मोदी : विश्वमा बढ्दो तनावले आम मानिसको जीवन प्रभावित भइरहेको छ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा बढ्दो तनाव, महामारी, जलवायुजन्य विपद् र आपूर्ति शृंखलाको अवरोधले आम मानिसको जीवन प्रभावित भइरहेको बताएका छन्।
ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सम्बोधन गर्दै मोदीले एक ठाउँमा उत्पन्न संकटले विश्वका अन्य देशलाई समेत असर पार्ने भएकाले सामूहिक सहकार्य आवश्यक रहेको बताए।
उनले संकटसँग जुध्न ब्रिक्स इन्टिग्रेटेड अर्ली वार्निङ सिस्टम निर्माणमा सहमति भएको जानकारी दिए। भारतको अध्यक्षतामा ब्रिक्सको कामलाई लचिलोपन, नवप्रवर्तन, सहयोग र दिगोपनमा केन्द्रित गरिएको उनको भनाइ छ।
सम्मेलनले नयाँदिल्ली घोषणापत्र समेत स्वीकृत गरेको छ। घोषणापत्रमा पहलगाम आतंकवादी हमलाको निन्दा गर्दै आतंकवादको वित्तीय स्रोत र आश्रय रोक्न सामूहिक प्रयास गर्ने प्रतिबद्धता जनाइएको छ।