झापामा ३२ हजार बोरा युरिया र २६ हजार बोरा डीएपी वितरण
कृषि सामग्री कम्पनी लिमिटेडले झापामा रासायनिक मलको आपूर्ति निरन्तर गरिरहेको जनाएको छ। हालसम्म जिल्लाका किसानलाई ३२ हजार ९९१ बोरा युरिया, २६ हजार २६७ बोरा डीएपी र ७४१ बोरा पोटास वितरण गरिएको छ।
धान रोपाइँको मुख्य चरण सकिएसँगै अब धानको वृद्धि र उत्पादनका लागि मल प्रयोग गर्ने समय सुरु भएको कार्यालय प्रमुख दीपककुमार राजवंशीले बताए। उनका अनुसार हाल कार्यालयमा १३० मेट्रिक टन युरिया र ५४ मेट्रिक टन डीएपी मौज्दात छ।
गत वर्षको मल खपतलाई आधार बनाएर यस वर्षको आवश्यकताको मूल्यांकन गरी दोस्रो चरणमा थप मल आपूर्ति गर्ने प्रक्रिया सुरु भइसकेको कार्यालयले जनाएको छ। थप मल आउने भएकाले किसानले अभाव बेहोर्नुपर्ने अवस्था नरहेको राजवंशीको भनाइ छ।
झापासहित कृषि सामग्री कम्पनीको झापा कार्यालयबाट इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमको एक स्थानीय तहमा समेत रासायनिक मल आपूर्ति तथा वितरण हुँदै आएको छ।