रोल्पा जीप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ७ जना पुग्यो, ७ घाइते
काठमाडौं । रोल्पाको माडी गाउँपालिका–४ परेवाछहरामा सोमबार जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ ।
रोल्पाको घर्तीगाउँबाट तालावाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप माडी गाउँपालिका–४ स्थित परेवा छहरामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक भरत लामाले बताउनुभएको हो ।
उनीहरूको सनाखत हुन बाँकी रहेको पनि उहाँले बताउनुभएको छ। अन्य ७ जना घाइतेको पनि अवस्था गम्भिर रहेको उहाँले बताउनुभएको हो। केही घाइतेको अस्पतालमा उपचार भइरहेको र केहीलाई सुविधायुक्त अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।
घाइतेहरूलाई स्थानीय स्वास्थ्य चौकी घर्तीगाउँ पुर्याइएको छ । घटनापछि निरन्तर पानी परिरहेकाले उद्धार गर्न असहज भएको प्रहरीले बताएको हो । सोमबार दिउँसो जीप सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरी कार्यालय रोल्पाले जनाएको छ।