याम्दी नदीको भिरबाट लडेर युवती गम्भीर घाइते
पोखरा । पोखरा महानगरपालिका–२५ हेम्जा चौरस्थित याम्दी नदीको भिरबाट लडेर एक युवती गम्भीर घाइते भएकी छन्।
भिरबाट महिला कराएको आवाज सुनिएको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा १० जना प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा १३ जनाको संयुक्त टोली खोज तथा उद्धारका लागि परिचालन भएको थियो।
खोजीका क्रममा हेम्जा चौरबाट करिब ३०० मिटर तल याम्दी खोलाको खोच किनारमा पोखरा–२५ बुद्धचोक निवासी २२ वर्षीया देवी सुनार घाइते अवस्थामा फेला परेकी थिइन्।
उद्धार टोलीले तत्काल उनलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल, कास्की पठाएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सुनारको ढाड तथा दुवै हातखुट्टामा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
घटनास्थल वडा प्रहरी कार्यालय बगरबाट करिब ६ किलोमिटर उत्तरतर्फ पर्छ। युवती भिरबाट कसरी लडिन् भन्नेबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।