नेपाल-चीनबीचको सचिवस्तरीय बैठक आज बस्दै
काठमाडौं । नेपाल र चीनबीच सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठक मंगलबार काठमाडौंमा बस्ने भएको छ ।
चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ र नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्ने बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन र द्विपक्षीय सम्झौताको बारेमा छलफल हुने भएको हो ।
बैठकमा भाग लिनका लागि चिनियाँ उपविदेशमन्त्री सुन सोमबार नेपाल आइपुग्नुभएको छ । ३ दिने नेपाल भ्रमणमा रहेका उपविदेशमन्त्री सुनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्नुभएको थियो ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा सोमबार भएको भेटमा प्रधानमन्त्री दाहाल र उपविदेशमन्त्री सुनबीच नेपाल रचीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी चासो तथा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सन् २०१७ मा नेपाल-चीनबीच सम्झौता भएको बीआरआईको प्रगतिको बारेमा चर्चा गर्ने, सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौता र फौजदारी विषयमा पनि पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतालाई बैठकमा चीनले उठाउने तयारी गरेको हो ।