आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानलाई पराजित गर्दै अमेरिका विजयी
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा बिहीबार राति सुपर ओभरमा पाकिस्तानलाई पराजित गर्दै अमेरिका विजयी भएको छ ।
समूह ‘ए’मा रहेको अमेरिकाले बिहीबार राति पाकिस्तानमाथि ऐतिहासिक जित निकालेको हो। सुपर ओभरमा गएको खेलमा अमेरिकाले ५ रनको सनसनीपूर्ण जित दर्ता गरेको हो। पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको छ ।
एरोन जोन्सले ११ रन बनाउँदा मोहम्मद आमिरले अतिरिक्त ७ रन उपहार दिएका थिए। सुपर ओभरमा जवाफी ब्याटिङ गरेको पाकिस्तान एक विकेट गुमाएर १३ रनमा समेटिएको हो।
विश्वकपमा पहिलो पटक सहभागिता जनाएको अमेरिकाको सोही जित ऐतिहासिक बनेको छ। आयोजक राष्ट्रको हिसाबले विश्वकपमा सहभागिता जनाएको अमेरिकाले यो जितसँगै विश्व क्रिकेटमा तहल्का पिटेको हो। पाकिस्तान टी-२० विश्वकपको पूर्व विजेता समेत टिम हो।
उसलेले सन् २००९ मा सम्पन्न टी-२० विश्वकपको दोस्रो संस्करणको उपाधि जितेको थियो। विश्वकपमा एसोसिएट्स सदस्य राष्ट्रले टेस्ट राष्ट्रलाई पराजित गरेको यो पहिलो पटक हो। सोही जितसँगै अमेरिकाको क्रिकेटमा विश्वले ध्यान दिने देखिएको छ।
विश्वकपमा पहिलो हारसँगै पाकिस्तान अंक विहीन बनेको हो। अमेरिका दोस्रो जितसँगै ४ अंकका साथ समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ। अमेरिकाले पहिलो खेलमा क्यानाडालाई ७ विकेटलेपराजित गरेको छ।
जारी विश्वकपमा सुपर ओभरमा गएको यो दोस्रो खेल हो । यसअघि समूह ‘बी’ को एक खेलमा नामिबियाले ओमानमाथि सुपर ओभरमा जित निकालेको थियो ।
बिहीबार राति भएको खेलमा शुरुमा ब्याटिङ गरेको पाकिस्तानले ७ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको अमेरिकाले समेत ३ विकेटको क्षतिमा १ सय ५९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको हो।
बिहीबारको खेलमा अमेरिकाका लागि कप्तान मोनांक पटेलले अर्धशतक बनाएका छन् । ३८ बलको सामना गर्दै उनले ७ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाएका हुन्।
अमेरिकाका लागि नोस्थुस केन्जिंगेले ३ विकेट हात पार्दा सौरभ नेत्रभाल्करले २ विकेट लिएका छन् । अली खान र जस्दीप सिंहले भने समान १-१ विकेट हात पारेका हुन्।