१० दिन सुरुङमा फसेर उद्धार गरिएका सञ्जय साह अस्पतालबाट डिस्चार्ज
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन्।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि सुरुङभित्र फसेका साह र कवीर महर्जनलाई १०औँ दिनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको टोलीले सकुशल उद्धार गरेको थियो।
उद्धारपछि साहलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। अस्पतालमा सात दिन उपचारपछि उनी पूर्ण रूपमा निको भएर शुक्रबार सप्तरीस्थित घर फर्किएका हुन्।
सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार साहको स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो। साह त्रिशूली–३ ‘ए’ आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत थिए। उनी सप्तरीको कोइलाडी गाउँपालिका–८ निवासी हुन्।
सुरुङबाट उद्धार गरिएका अर्का कर्मचारी कवीर महर्जन भने ललितपुरको बालकुमारी निवासी हुन्।