सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पाएका छन्। सिबिफिनका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ हिमालयन बैंकबाट बाहिरिएपछि अध्यक्ष पद रिक्त भएको थियो। श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भएसँगै सिबिफिनको अध्यक्ष पदसमेत रिक्त भएको हो।
२०८३ भदौ २५ गते बसेको सिबिफिन कार्यसमितिको बैठकले आगामी वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म संस्थाको नेतृत्व निरन्तरता दिन वरिष्ठ उपाध्यक्ष उपाध्यायलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरेको हो।
उपाध्याय प्रतिष्ठित महालक्ष्मी विकास बैंकका अध्यक्षसमेत हुन्। उनी नेपालको बैंकिङ, बिमा तथा वित्तीय सेवा क्षेत्रमा करिब अढाई दशकदेखि सक्रिय अनुभवी व्यवसायीका रूपमा परिचित छन्। उनलाई कुशल रणनीतिकार तथा संस्थागत विकासका अभियन्ताका रूपमा पनि लिइन्छ।
वर्तमान विषम आर्थिक परिस्थितिमा बैंकिङ क्षेत्रले सामना गरिरहेका नीतिगत तथा व्यावहारिक चुनौती समाधान गर्न उपाध्यायको अनुभव र समन्वयकारी नेतृत्व प्रभावकारी हुने सिबिफिनको विश्वास छ।
उनको नेतृत्वमा सिबिफिनले आफ्ना उद्देश्य, नीतिगत प्राथमिकता र भूमिकालाई थप प्रभावकारी बनाउँदै बैंकिङ क्षेत्रको स्थायित्व, विश्वसनीयता अभिवृद्धि तथा दिगो विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।