पजशकियान र पुटिन नयाँदिल्लीमा, मोदीसँग भेटवार्ता हुँदै
इरानी राष्ट्रपति मसुद पजशकियान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतको नयाँदिल्ली पुगेका छन्।
राष्ट्रपति बनेपछि पजशकियानको यो पहिलो भारत भ्रमण हो। उनले शुक्रबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
यसैबीच पुटिन बिहीबार राति नयाँदिल्ली पुगेका हुन्। उनले शुक्रबार दिउँसो मोदीसँग भेटवार्ता गर्नेछन्। भेटमा भारतमा रुसी एसयू–५७ लडाकु विमान उत्पादन तथा प्रविधि हस्तान्तरणको प्रस्तावलगायत रक्षा सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
पुटिनको भ्रमणअघि उनको सुरक्षा टोली, बख्तरबन्द ‘अरस सेनाट’ लिमोजिन र आवश्यक सामग्री बोकेका रुसी सैन्य विमानहरू भारत पुगेका थिए। भ्रमणका क्रममा पुटिनको भित्री सुरक्षा रूसको फेडरल प्रोटेक्टिभ सर्भिस (एफएसओ) र बाहिरी सुरक्षा भारतीय सुरक्षा निकायले सम्हाल्ने बताइएको छ।