जातीय विभेद मानव सभ्यताकै कलंक हो: राष्ट्रपति पौडेल
काठमाडौं । आज(आइतवार) सबै प्रकारका जातीय भेदभाव विरूद्ध उन्मूलन राष्ट्रिय दिवस मुलुकभर जनचेतना मुलक कार्यक्रम गरी मनाइँदैछ ।
नेपालमा वि.सं. २०६८ जेठ २१ गते देखि जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउँदै आइएको छ । दिवसको अवसमा शुभकामना सन्देश दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव मानव सभ्यताकै कलंक भएको बताएका छन् ।
शुभकामना सन्देश मार्फत उनले सरकारले देशलाई न्याय र समानता सहितको समृद्धिको दिशातर्फ अघि बढाइरहेको बताएका छन् । उनले समाजमा विद्यमान विभेदकारी पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले जातीय भेदभाव तथा छुवाछुत प्रथा अझै अन्त्य हुन नसकेको बताए ।
बिज्ञप्तीमा उनले भनेका छन्,‘समाजमा विद्यमान विभेदकारी पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले जातीय भेदभाव तथा छुवाछुत प्रथा अझै पनि अन्त्य हुन सकिरहेको छैन । जातीय विभेद तथा छुवाछुत प्रथा मानव सभ्यताको कलंक हो । यो सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो । हाम्रो समाजबाट यस प्रथाको समूल अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील रहन स्थानीय तह, प्रदेश तथा संघीय सरकार, सुरक्षा निकायका साथै राजनीतिक दल, नागरिक समाज, संघ संस्था र सञ्चारकर्मीहरूमा हार्दिक आव्हान गर्दछु ।’