बार्सिलोना क्वाटरफाइनलमा प्रवेश
क्याटलान क्लब बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा दोस्रो श्रेणीको रायो भालेकानोलाई २-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना क्वटरफाइनलमा प्रवेश गरेको हो ।
बार्सिलोनालाई पूनरागमन जित दिलाउनको लागि कप्तान लियोनेल मेस्सी र फ्रान्की डि जोङले गोल गरे । रायो भालेकानोको लागि फ्रान्सिस्को गार्सियाले गरेको गोल सान्त्वना बन्यो । सबै गोल दोस्रो हाफमा भएको थियो । ६३औं मिनेटमा गार्सियाले गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए । तर भालेकानोको त्यो अग्रता लामो समय टिकेन । ६९औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बराबरीमा ल्याए । उनले एन्टोइन ग्रिजमनको पासमा गोल गरेका थिए ।
८०औं मिनेटमा फ्रान्की डि जोङले जोर्डी अल्वाका पासमा गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाउँदै अन्तिम आठको यात्रा तय गराए ।