जापानको व्यस्त सेप्टेम्बर, भारतदेखि नेपालसम्मसँग भिड्दै
जापानी क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा आठ दिनभित्र चार फरक टोलीसँग पाँचवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ।
जापानले सेप्टेम्बर १९ र २० मा हङकङसँग दुई खेल खेल्दै आफ्नो व्यस्त तालिका सुरु गर्नेछ। त्यसपछि सेप्टेम्बर २२ मा साविक टी–२० विश्वकप विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ।
भारतसँगको खेलपछि जापानले सेप्टेम्बर २४ मा सन् २०२४ को टी–२० विश्वकपको सेमिफाइनल पुगेको अफगानिस्तानसँग खेल्नेछ। प्रतियोगिताको अन्तिम खेलमा जापानले सेप्टेम्बर २६ मा नेपालसँग प्रतिस्पर्धा गर्नेछ।
छोटो अवधिमा पाँच उच्चस्तरीय खेल खेल्नुपर्ने भएकाले जापानी टोलीका लागि यो तालिका चुनौतीपूर्ण हुने देखिएको छ। तर भारत, अफगानिस्तान, नेपाल र हङकङजस्ता अनुभवी टोलीसँगको प्रतिस्पर्धाले जापानी क्रिकेटको विकाससँगै खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर दिने अपेक्षा गरिएको छ।