बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप
एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने घोषणा गरेको छ । एनसेलले यो निःशुल्क सेवा भदौ २० गतेदेखि थप ७ दिन अर्थात् भदौ २६ गतेसम्म उपलब्ध गराउने भएको हो ।
यससँगै प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन् । यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो ।
‘यस कठिन घडीमा सहज सञ्चार सुनिश्चित गर्न हामीले प्रभावित क्षेत्रमा निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने निर्णय गरेका हौँ। अवरुद्ध भएका टावरमध्ये ९२ प्रतिशत पुनः सञ्चालनमा आइसकेकाले विपद्को समयमा हाम्रो यो निःशुल्क सेवाले प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न ठुलो मद्दत पुग्ने विश्वास लिएका छौं,’ एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने ।