चितवनमा ३६२ शव फेला, ६८ आफन्तको डीएनए नमुना संकलन
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि चितवनका त्रिशूली र नारायणी नदी किनारबाट हालसम्म ३६२ वटा शव फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार फेला परेका शवमध्ये ३३३ वटाको सुरक्षित व्यवस्थापन गरिएको छ भने सनाखत भएका १४ शव आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको छ।
शवको वैज्ञानिक पहिचानका लागि भदौ १६ गतेदेखि हराइरहेका व्यक्तिका आफन्तको डीएनए नमुना संकलन थालिएको थियो। भदौ २० गतेसम्म ६८ जना आफन्तको डीएनए नमुना संकलन गरिएको प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए।
प्रहरीका अनुसार नदी किनारमा थप शवको खोजी, पहिचान तथा आफन्तको विवरण संकलन गर्ने कार्य निरन्तर भइरहेको छ।