बेसीँसहर–चामे सडकमा ठूला सवारीसाधन चलाउन रोक
मनाङको मुख्य सडक चामे–बेँसीसहर सडकमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। वर्षाका कारण सडक हिलाम्मे र जोखिमपूर्ण बनेपछि स्थानीयवासीले ठूला सवारीसाधन चलाउँदा सडक थप क्षतिग्रस्त हुने भन्दै आवागमन रोकेका हुन्।
स्थानीयका अनुसार ठूला सवारीसाधनका कारण सडकमा ठूला खाल्डा पर्नुका साथै सडक भासिने जोखिम बढेको छ। यसले स्थानीयको दैनिक आवतजावत, घाँसदाउरा तथा बालबालिकाको विद्यालय आवागमनमा समेत समस्या भएको उनीहरूको भनाइ छ।
प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले वर्षायाममा हेभी सवारीसाधन सञ्चालन गर्दा सडक भासिन सक्ने भन्दै रोक लगाउन प्रशासनलाई आग्रह गरिएको बताए। सडक अवरुद्ध भए मनाङमा पर्यटकका लागि आवश्यक सामग्री ढुवानी र स्थानीयको आवतजावतसमेत प्रभावित हुने उनको भनाइ छ।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले वर्षायाममा सडक भासिने तथा बाढीपहिरोको जोखिम उच्च हुने भएकाले ठूला सवारीसाधन नचलाउन यसअघि नै आग्रह गरिएको बताए। उनका अनुसार स्थानीयको गुनासो सम्बोधन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।