मियामीमा अमेजनको कार्गो विमान दुर्घटनामा परी पाँच जनाको मृत्यु
अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजनका लागि उडान भरिरहेको कार्गो विमान धावनमार्गबाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
आइतबार दिउँसो अवतरणका क्रममा धावनमार्ग पार गरेको विमानले केही सवारीसाधनमा ठक्कर दिएको थियो। ठक्करपछि विमानमा भीषण आगलागी हुँदा बाक्लो कालो धुवाँ फैलिएको थियो।
मियामी–डेड अग्नि तथा उद्धार विभागका प्रमुख राइड जादाल्लाहका अनुसार दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले ट्रमा सेन्टरमा लगिएको छ।
बाँकी दुई जनाको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ। विमानले ठक्कर दिएका केही सवारीसाधनभित्र मानिसहरू फसेकाले उद्धार टोलीले उनीहरूलाई बाहिर निकालेको थियो।
पोर्टो रिकोको सान जुआनबाट मियामी आएको ३२ वर्ष पुरानो बोइङ–७६७ विमान दुर्घटनामा परेको हो। २१ एयरले सञ्चालन गरिरहेको उक्त विमानले अमेजनका लागि कार्गो उडान गर्दै आएको थियो।
विमान धावनमार्गबाट बाहिरिँदा करिब १३० माइल प्रतिघण्टाको गतिमा रहेको फ्लाइट ट्र्याकिङ तथ्याङ्कले देखाएको छ। विमान समयमै किन रोकिएन भन्नेबारे अहिलेसम्म स्पष्ट हुन सकेको छैन। दुर्घटनाअघि चालक दलले कुनै आपत्कालीन सूचना नदिएको हवाई ट्राफिक नियन्त्रणको अडियो समीक्षाबाट देखिएको छ।
अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड र संघीय उड्डयन प्रशासनले घटनाबारे अनुसन्धान थालेका छन्। दुर्घटनापछि विमानस्थलमा केही समयका लागि उडानमा रोक लगाइएको थियो। क्षतिग्रस्त विमान धावनमार्गमै रहेका कारण सोमबारसम्म उडानहरू प्रभावित हुने बताइएको छ।