प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ मौज्दात
प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको कोषमा हाल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।
कोषमा रहेको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ मौज्दात छ। यस्तै, दुई वाणिज्य बैंकका खातामा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर रहेको कार्यालयले जनाएको छ।
यसअघि बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।
बाढीपछि सरकारले राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेपछि स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकम कोषमा जम्मा हुँदै आएको हो।