बाढी प्रभावित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नेपाललाई श्रीलङ्काले १० लाख अमेरिकी डलर आर्थिक सहयोग गरेको छ।
नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी सहयोग रकम हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले विपद्को कठिन समयमा नेपालप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा मानवीय प्रयासका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति आभार व्यक्त गरे।
श्रीलङ्काको सहयोगले नेपाल र श्रीलङ्काबीचको मित्रता, पारस्परिक सहयोग र सहकार्यलाई प्रतिबिम्बित गरेको बताउँदै मन्त्री खनालले विपद्का बेला श्रीलङ्काले देखाएको सद्भाव र सहयोगका लागि नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गरे।
सो अवसरमा राजदूत डेल्पिटियाले बाढीबाट भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति श्रीलङ्का सरकार र जनताको तर्फबाट गहिरो दुःख व्यक्त गरिन्। उनले विपद्को यस कठिन समयमा नेपाल सरकार र नेपाली जनताप्रति श्रीलङ्काको ऐक्यबद्धता रहेको बताइन्।
भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधन तथा पूर्वाधारको क्षति भएको थियो। विपद्पछि विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय निकायले नेपाललाई राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्दै आएका छन्।