भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माणमा तीव्रता दिन राष्ट्रपतिको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्काल व्यवस्थापनसँगै सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रपति पौडेलले बुधबार राष्ट्रपति भवन शीतल निवासमा परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै छलफल गर्दै बाढी प्रभावित क्षेत्रमा सडक यातायात सञ्चालन तथा पीडितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेका हुन्।
भौगोलिक विकटतालाई ध्यानमा राख्दै सडक यातायात सञ्चालनमा सरकारको क्षमता अपुग भए ठूला बेलिब्रिजलगायत आवश्यक पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग लिनसमेत उनले सुझाव दिएका छन्।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति प्राप्त गर्ने विषयलाई अन्तर्राष्ट्रिय तहमा उठाउन प्रधानमन्त्रीले पहल गर्नुपर्नेमा समेत जोड दिए।
बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा आफूले पीडितको अवस्था तथा भौतिक संरचनामा पुगेको क्षति प्रत्यक्ष देखेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले प्रभावित नागरिकको बसोबास र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित अघि बढाउनुपर्ने बताए।
उनले बाढी प्रभावित क्षेत्रको जनजीवन सहज बनाउन तत्काल गर्नुपर्ने कामलाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे।
परराष्ट्रमन्त्री खनालसँगको भेटमा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र प्रधानसेनापति अशोकराज सिग्देलसमेत सहभागी थिए।
सो अवसरमा मन्त्रीद्वयले दसैँअघि नै सडक यातायात पूर्ववत् सञ्चालन गर्ने गरी काम भइरहेको जानकारी राष्ट्रपतिलाई गराएका थिए। साथै, बाढी प्रभावित नागरिकका लागि अस्थायी टहरा (क्याप्सुल होम) निर्माणको काम पनि तीव्र गतिमा भइरहेको उनीहरूले बताए।
सरकारले वैकल्पिक सडक निर्माणलाई समेत प्राथमिकताका साथ अघि बढाएको र लामो बेलिब्रिज निर्माणका लागि मित्रराष्ट्रहरूसँग आग्रह गरिसकेको मन्त्रीहरूले जानकारी दिएका थिए। आवश्यक सामग्री आउने क्रममा रहेको र पुनर्निर्माण तथा पुनर्स्थापनाका अन्य योजना पनि सरकारले अघि बढाएको उनीहरूको भनाइ थियो।