रसुवा बाढीमा बेपत्ता १ हजार ३६७ जनाको शव फेला
रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म १ हजार ३६७ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि अझै ५ हजार १३२ जना सम्पर्कविहीन छन्। फेला परेका शवमध्ये १०२ जनाको सनाखत भइसकेको छ भने आफन्तले शव बुझिसकेका छन्।
प्राधिकरणका अनुसार रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२६, नवलपरासी पश्चिममा २२२ र चितवनमा ३६३ जनाको शव फेला परेको छ।
बाढीमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ तथा सरकारी कर्मचारी ७३ जना अझै सम्पर्कविहीन छन्। यस्तै, बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी र करिब ५८९ विदेशी पर्यटक पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
सुरक्षा निकायले सम्पर्कविहीनहरूको खोजी तथा उद्धारलाई तीव्रता दिएको छ। हालसम्म बाढी प्रभावित क्षेत्रबाट १३ हजार ६४६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ६२८ जना विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्।
बाढीबाट प्रभावित तथा घाइते ७ हजार १५१ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरिएको प्राधिकरणले जनाएको छ। राज्यका विभिन्न निकाय, सुरक्षा निकाय, स्थानीय तह तथा सरकारी र गैरसरकारी संस्थाहरू खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका काममा सक्रिय छन्।