बुढानीलकण्ठको गरुड क्यासिनोबाट ११ जना पक्राउ, १० लाखभन्दा बढी नगद बरामद
काठमाडौँको बुढानीलकण्ठस्थित गरुड क्यासिनोमा गैरकानुनी रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बुढानीलकण्ठको संयुक्त टोलीले भदौ २९ गते राति २ बजे क्यासिनोमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
क्यासिनोभित्र नेपाली नागरिकलाई प्रवेश गराई क्वाइनमार्फत नगद सटही गरेर हारजित हुने गरी जुवा खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको जनाएको छ।
प्रहरीले घटनास्थलबाट ९ थान मोबाइल, १० लाख ८५ हजार ६ सय रुपैयाँ नगद तथा विभिन्न दरका नगद सटहीमा प्रयोग हुने क्वाइन बरामद गरेको छ।
पक्राउ परेकाहरूमाथि जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।