मिनी ट्रकको ठक्करबाट कैलालीमा पाँच वर्षीय बालकको मृत्यु
कैलालीको गौरीगंगा नगरपालिका–२ झिलमा मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गमा पैदल हिँडिरहेका स्थानीय लेखराज देउवालाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ क १३५२ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा टाउको र छातीमा गम्भीर चोट लागेका देउवाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरासिंह महरले जानकारी दिए।
दुर्घटनापछि प्रहरीले ट्रक चालक लम्कीचुहा नगरपालिका–२ का २९ वर्षीय सुनिल चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।