धनुषाबाट १५ महिने बालक अपहरण भएको दुई सातापछि सकुशल उद्धार
धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।
भदौ १८ गते अपहरणमा परेका बिदेह नगरपालिका–६ का कमलेश महतोका १५ महिने छोरा सिद्धान्त महतोलाई प्रहरीले गएराति बिदेह नगरपालिका–१ स्थित दशगज्जा क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार बालकलाई छाडेर भाग्न खोजिरहेको अवस्थामा कमला नगरपालिका–९ की पुनितादेवी पासवानलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बालकको खोजीका क्रममा ती महिलालाई पक्राउ गरिएको जानकारी दिए।
बालक अपहरणमा परेको सूचना प्राप्त भएलगत्तै तालिमप्राप्त कुकुरसहित प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान थालेको थियो। सोही क्रममा बालकलाई राखिएको स्थान पहिचान गरी प्रहरी टोली पुगेपछि बालकलाई छाडेर भाग्न खोज्दै गर्दा पासवान पक्राउ परेको प्रहरीले जनाएको छ।
सकुशल उद्धार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाइएको छ। पक्राउ परेकी पासवानविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।