गङ्गालाल अस्पतालनजिक बस र स्कुटर ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु
काठमाडौं महानगरपालिका–३ स्थित गङ्गालाल अस्पतालनजिक बस र स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ।
बुढानीलकण्ठबाट नारायणगोपाल चोकतर्फ जाँदै गरेको बा ५ ख ३६७१ नम्बरको भाडाको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ५३ प २४८५ नम्बरको स्कुटर आज दुर्घटनामा परेका हुन्।
दुर्घटनामा गम्भीर घाइते भएका बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलका २२ वर्षीय समिर श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
स्कुटरमा सवार २१ वर्षीया आयुष्मा मगर घाइते भएकी छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।