चीनबाट नेपाललाई आपत्कालीन राहत सामग्रीको पाँचौँ खेप आइपुग्यो
चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको पाँचौँ खेप शुक्रबार काठमाडौं आइपुगेको छ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए ठूलो क्षमताको मालवाहक विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए।
चिनियाँ दूतावासका अनुसार विपद् व्यवस्थापन तथा खोज, उद्धार र राहतका लागि तत्काल आवश्यक सामग्री यसपटक पठाइएको हो।
पाँचौँ खेपमा डिजेल जेनेरेटर, चिकित्सकीय सुरक्षात्मक मास्क, शव संरक्षणका लागि फ्रिजर, डीएनए परीक्षणका उपकरण तथा रिएजेन्ट र पानीमा उद्धारका लागि आवश्यक उपकरणलगायत सामग्री छन्।
यी सामग्रीले विपद्पछिका खोज, उद्धार तथा व्यवस्थापनका कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने दूतावासले जनाएको छ।