नवलपुरमा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनय त्रिवेणी गाउँपालिका–३ चिसापानीमा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
प्रहरीका अनुसार चिसापानीका अन्दाजी ४३ वर्षीय शेरबहादुर विकले आफ्नी श्रीमती अन्दाजी ४० वर्षीया उनिमाया विकको घाँटीमा धारिलो हतियार खुर्पा प्रहार गरेका थिए। गम्भीर चोट लागेकी उनिमायाको घटनास्थलमै मृत्यु भएको हो।
घटनाको जानकारी पाएलगत्तै अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले हत्या आरोपमा शेरबहादुर विकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।