परराष्ट्रमन्त्री खनाल र भारतीय राजदूत श्रीवास्तवबीच बिदाइ भेट
परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार बिदाइ भेट गरेका छन्।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले सफल कार्यकाल पूरा गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई दिँदै नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन उनले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।
भेटमा नेपाल–भारतबीच ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार तथा सम्पर्क सञ्जालका क्षेत्रमा भएका प्रगतिका साथै दुई देशका जनताबीचको सम्बन्धबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
यस्तै, भोटेकोशीमा आएको बाढीपछि भारतले नेपालप्रति देखाएको ऐक्यबद्धता तथा खोज, उद्धार र राहतका लागि गरेको सहयोगप्रति मन्त्री खनालले कृतज्ञता व्यक्त गरे। उनले राजदूत श्रीवास्तवको आगामी कार्यकाल तथा भावी प्रयासका लागि शुभकामना दिए।
भेटमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति आभार व्यक्त गर्दै आगामी दिनमा नेपाल–भारत सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे।