भोटेकोशी बाढीपछि चितवनमा फेला परेका ३६४ शवमध्ये १४ को पहिचान
रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवनमा फेला परेका ३६४ शवमध्ये १४ जनाको पहिचान भएको छ। हराइरहेका व्यक्तिको पहिचानका लागि ८१ जना आफन्तको डीएनए नमुना संकलन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डीएनए परीक्षण तथा कानुनी प्रक्रियामार्फत व्यवस्थापन गरिएको हो। पहिचान खुलेका शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको पौडेलले जानकारी दिए।
उनका अनुसार पहिचान खुल्न नसकेका ३४९ शवको सुरक्षित व्यवस्थापन गरिसकिएको छ। अब एउटा शवको मात्र व्यवस्थापन गर्न बाँकी रहेको उनले बताए। व्यवस्थापन गरिएका सबै शवको डीएनए नमुना सुरक्षित राखिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।
हराइरहेका व्यक्तिको पहिचान खुलाउन प्रहरीले आफन्तको डीएनए नमुना संकलनलाई प्राथमिकता दिएको छ। संकलित नमुना विधिविज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ।