सर्वदलीय बैठकबाट उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय
सर्वदलीय बैठकले विपद् जोखिम न्यूनीकरण, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका विषयमा काम गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ।
बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले भोटेकोशी बाढीपछि लगातार बस्दै आएको सर्वदलीय बैठकलाई नै दिगो राजनीतिक संयन्त्रका रूपमा अघि बढाउने निर्णय भएको जानकारी दिए।
उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संयोजक रहने संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल, जनमत पार्टीलगायत दल सहभागी हुनेछन्। राष्ट्रिय सभामा प्रतिनिधित्व रहेको राष्ट्रिय जनमोर्चालाई पनि संयन्त्रमा समेट्न औपचारिक आग्रह गर्ने निर्णय भएको उनले बताए।
बैठकले एक साताभित्र संसदीय समिति गठन गर्ने निर्णयसमेत गरेको छ। समितिमा संसद्मा रहेका दलहरूको सिट संख्याका आधारमा प्रतिनिधित्व गराइने खरेलले जानकारी दिए।
बैठकमा भोटेकोशी बाढीबाट भएको जनधनको क्षति, खोजी तथा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणमा सरकार तथा विभिन्न निकायबाट भइरहेका कामको समीक्षा गरिएको थियो। राजनीतिक दलहरूले पुर्याएको योगदानबारे पनि छलफल भएको उनले बताए।
यस्तै, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाह सहभागी हुने विषयमा पनि बैठकमा छलफल भएको छ। महासभामा नेपालको तर्फबाट उठाउनुपर्ने विषय र गर्नुपर्ने छलफलका सम्बन्धमा विभिन्न दलका नेताहरूले सुझाव दिएको खरेलले जानकारी दिए।