सिंहदरबारभित्र सांसद नीतिमा कार्की चढेको गाडीमा यूएनडीपीको गाडीले दियो ठक्कर
सर्लाही–१ की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद नीतिमा कार्की चढेको गाडीमा बुधबार सिंहदरबारभित्र यूएनडीपीको विद्युतीय गाडीले ठक्कर दिएको छ।
बुधबार बिहान करिब ११ बजे अर्थ समितिको बैठकमा सहभागी भएर बाहिरिने क्रममा विज्ञान तथा प्रविधि मन्त्रालय र रास्वपा संसदीय दलको कार्यालय जाने मोडअगाडि दुर्घटना भएको हो।
प्रहरीको गाडी अगाडि रहेकाले कार रोकिएको अवस्थामा यूएनडीपीको गाडीले एकैपटक दुईवटा गाडीलाई ठक्कर दिएको थियो। दोस्रो ठक्करमा सांसद कार्की सवार गाडी परेको बताइएको छ।
कार्की गाडीको पछाडिको दायाँ सिटमा बसेकी थिइन्। आफू बसेकै साइडमा अर्को गाडी अचानक ठोक्किएपछि केहीबेर आत्तिए पनि उनलाई कुनै शारीरिक चोट नलागेको उनले बताइन्।
‘म समितिबाट ठ्याक्कै बाहिर निस्केको मात्रै थिएँ। राइट लाग्ने क्रममा अगाडि प्रहरीको गाडी गइरहेको हुँदा हामी रोकिएका थियौँ। एक्कासि म बसेकै साइडबाट आएर एउटा सेतो गाडी अर्को गाडीलाई र त्यसपछि मेरो गाडीलाई ठक्कर दियो,’ कार्कीले भनिन्, ‘एकछिन त म शक भएँ। तर अहिले ठिक छु। चोटपटक चाहिँ लागेको छैन।’
दुर्घटनामा यूएनडीपीको गाडीको अगाडिको भागमा ठूलो क्षति पुगेको छ भने कार्की सवार बीएमडब्लुमा पनि उल्लेख्य क्षति भएको छ। कार्कीका अनुसार क्षति मूल्यांकनका लागि गाडी शोरुममा लगिएको छ।
दुर्घटनापछि यूएनका प्रतिनिधि आएर आफूहरूसँग कुराकानी गरेको उनले बताइन्। ‘मेरो गाडीमा क्षति धेरै भएको छ तर हिसाब निकालेको छैन। शोरुममा राम्ररी हेरेर हिसाब निकालेर दिनुहुन्छ,’ उनले भनिन्।
यूएनडीपीको गाडी महिला चालकले चलाएकी थिइन्। दुर्घटनापछि उनी निकै आत्तिएको अवस्थामा देखिएकी थिइन्। सञ्चारकर्मीले घटनाबारे सोध्दा उनले तत्काल प्रतिक्रिया दिन सकिनन्।
सांसद कार्कीले भने दुर्घटना कसैले चाहेर नहुने भन्दै चालकप्रति आफूले कुनै नराम्रो व्यवहार नगरेको बताइन्।
‘उहाँले पनि प्लान गरेर भएको होइन। यो एउटा भवितव्य हो। मैले उहाँलाई केही पनि नराम्रो भनिनँ,’ उनले भनिन्।