सुडानमा सुनखानी भत्किँदा ६० मजदुरको मृत्यु
पश्चिमी सुडानको पश्चिम कोर्डोफानस्थित एल–नाहुद सहरनजिकै सुनखानी भत्किँदा कम्तीमा ६० जना साना खानी मजदुरको मृत्यु भएको छ।
मंगलबार अल–जारा सुनखानी भत्किएपछि उद्धार तथा खोजी अभियान सुरु गरिएको थियो। उद्धार टोलीले हालसम्म ६० जनाको शव निकालिसकेको जनाएको छ।
घटनाबाट बाँचेकाहरूका अनुसार अझै केही मजदुर खानीको भग्नावशेषभित्र फसेको हुनसक्ने आशंका गरिएको छ। उद्धारकर्मीहरूले बेपत्ता मजदुरको खोजी जारी राखेका छन्।
सुडानमा सन् २०२३ अप्रिलदेखि सेना र अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच जारी द्वन्द्वले देशको अर्थतन्त्र र जनजीवनमा गम्भीर असर पारेको छ। सुन उद्योगले समेत द्वन्द्वरत पक्षको युद्ध प्रयासमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन्छ।
द्वन्द्वका कारण सुडानमा हिंसा, खाद्य अभाव र विस्थापन बढेको छ भने ठूलो संख्यामा मानिस मानवीय संकटको सामना गरिरहेका छन्।