एआई विकास रोक्नु समाधान होइन : मार्क जुकरबर्ग
मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता (एआई) को विकास रोक्न वा यसको गति सुस्त बनाउनुपर्ने धारणाको प्रतिवाद गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै जुकरबर्गले बजार प्रतिस्पर्धा र कानुनी दायित्वका कारण प्रविधि कम्पनीहरू सुरक्षित र जिम्मेवार एआई विकास गर्न बाध्य हुने बताएका छन्।
एआई प्रणालीले प्रयोगकर्ताको निर्देशनअनुसार काम गर्न नसके वा गलत व्यवहार गरे मानिसले त्यस्ता प्रणाली प्रयोग गर्न छाड्ने भएकाले कम्पनीहरूमाथि आफ्ना एआई प्रणालीलाई विश्वसनीय र प्रभावकारी बनाउने व्यावसायिक दबाब रहेको उनको भनाइ छ।
जुकरबर्गले एआईको विकासमा सुरक्षा र जिम्मेवारीलाई बेवास्ता गर्न नहुने स्पष्ट पार्दै विकासको गति रोक्नु नै जोखिम न्यूनीकरणको एकमात्र उपाय नभएको बताएका छन्। उनले एआई प्रणालीको क्षमता र सुरक्षा परीक्षणका लागि स्वतन्त्र मूल्याङ्कनकर्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन्।
यसअघि एआईको तीव्र विकाससँगै सम्भावित जोखिमबारे प्रविधि क्षेत्रमै बहस हुँदै आएको छ। एन्थ्रोपिकका सीईओ डारियो अमोदेईलगायत केही प्रविधि क्षेत्रका नेतृत्वकर्ताले एआई विकासको गति केही समय घटाएर सुरक्षा संयन्त्र निर्माणमा ध्यान दिनुपर्ने धारणा राख्दै आएका छन्।
जुकरबर्गले मेटाले आफ्ना एआई प्रणाली सार्वजनिक गर्नुअघि सुरक्षा परीक्षणका लागि केही समय ढिलाइ गरेको उदाहरण दिँदै कम्पनीहरूले उत्पादन सार्वजनिक गर्नुअघि पर्याप्त परीक्षण गर्न सक्ने बताएका छन्। साथै, एआई सुरक्षाका लागि ठूलो, स्वतन्त्र र विविध मूल्याङ्कनकर्ता समूह आवश्यक रहेकोमा उनले जोड दिएका छन्।