गृहमन्त्री गुरुङले सम्झिए भदौ २७ : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’
गृहमन्त्री सुधन गुरुङले गत वर्षको जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक संकट र भदौ २७ गतेको घटनालाई ‘ऐतिहासिक दिन’का रूपमा स्मरण गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले आन्दोलनपछि तत्कालीन सरकार ढलेसँगै देशमा राजनीतिक अन्योल र शक्ति रिक्तता सिर्जना भएको उल्लेख गरेका छन्। नयाँ नेतृत्व चयन गर्ने विषयमा तीन दिनसम्म अन्योल रहेको उनको भनाइ छ।
गुरुङका अनुसार भदौ २७ गते आफू शीतल निवासमा करिब नौ घण्टा बसेका थिए। त्यसबेला देशलाई निकास दिनुपर्ने अडानसहित आफू त्यहाँ बसेको र अन्ततः सुशीला कार्कीले पहिलो महिला प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेपछि ठूलो जिम्मेवारीबाट हलुका भएको महसुस गरेको उनले बताएका छन्।
उनले भदौ २७ को परिस्थिति हजारौँ युवाको आवाज, नागरिकको अपेक्षा र देशलाई निकास दिनुपर्छ भन्ने साझा चेतनाबाट बनेको उल्लेख गर्दै आफ्नो भागमा आएको जिम्मेवारी सकेसम्म पूरा गरेको बताएका छन्।