प्रेस सेन्टरद्वारा गृहमन्त्रीको अभिव्यक्तिको निन्दा, माफी माग्न आग्रह
प्रेस सेन्टर नेपालले गृहमन्त्री सुधन गुरुङको पत्रकारप्रति दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। जेनजी दिवसका अवसरमा संसद् भवनमा आयोजित कार्यक्रममा गुरुङले पत्रकारलाई दिएको अभिव्यक्तिको निन्दा गर्दै सेन्टरले सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको हो।
सेन्टरले पत्रकारले गलत सूचना सम्प्रेषण गरे तथ्यका आधारमा खण्डन गर्नुपर्ने भन्दै सत्ताको शक्ति देखाएर पत्रकारलाई चेतावनी दिनुअघि सरकारले आफ्नो अहंकार र भाषा सुधार्नुपर्ने जनाएको छ।
त्यस्तै, लोककल्याणकारी विज्ञापनको रकम कटौती, सरकारी सञ्चार प्रतिष्ठानबाट श्रमजीवी पत्रकारको निष्काशन तथा राष्ट्रिय समाचार समितिको शुल्कवृद्धिप्रति पनि सेन्टरले विरोध जनाएको छ। निष्काशित पत्रकारलाई पुनःबहाली गरी श्रम ऐनअनुसार सेवासुविधा दिन र बाढी प्रभावित सञ्चारमाध्यम तथा पत्रकारलाई राहत उपलब्ध गराउन उसले माग गरेको छ।
प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत सुरक्षा र सञ्चार संस्थाको आर्थिक स्थायित्वका विषयमा आफ्ना माग पूरा नभए आन्दोलन गर्ने चेतावनीसमेत सेन्टरले दिएको छ।