सुख्खा पहिरोले रसुवाको वैकल्पिक सडक पनि अवरुद्ध
रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा वैकल्पिक सडक अवरुद्ध भएको छ ।जिरो–भोर्ले–पार्च्याङ सडकखण्डअन्तर्गत बागेश्वरी मन्दिरनजिक बुधबार साँझ ठूलो सुख्खा पहिरो खसेको हो ।
नुवाकोटको बेत्रावती हुँदै रसुवाको स्याफ्रुवेंशी र धुन्चे जोड्ने सडक बाढीपछि अवरुद्ध रहेकाले उक्त सडक वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ ।
पहिरोका कारण काठमाडौं र नुवाकोट हुँदै रसुवा सदरमुकाम धुन्चे जाने तथा धुन्चेबाट फर्कने यात्रु बाटोमै रोकिएका छन् । राहत सामग्री लिएर रसुवा पुगेका सवारीसाधन तथा टोलीसमेत सडक अवरुद्ध भएपछि रोकिएका छन् ।पहिरो पन्छाउन दुईवटा डोजर परिचालन गरिएको छ। सडक खुलाउने प्रयास भइरहेको छ ।