ह्विप उल्लङ्घन गरेको भन्दै राप्रपा बागमतीका ५ सांसदलाई पदमुक्त गर्न सिफारिस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना प्रदेशसभा सदस्यलाई कारबाही प्रक्रिया अघि बढाएको छ । राप्रपा संसदीय दलले ह्विप उल्लंघन गरेको भन्दै ५ सांसदलाई पदबाट निष्कासन गर्न प्रदेश सभाका सभामुखसमक्ष सिफारिस गरेको हो ।
राप्रपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक डम्बर तामाङले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराउँदै पूर्व सभामुखसमेत रहेका सांसद भुवनकुमार पाठकसहित ५ जनालाई प्रदेश सभा सदस्यबाट हटाउन माग गरेका हुन्।
कारबाही सिफारिस गरिएका सांसदहरूमा पाठकसहित कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामा रहेका छन् । संसदीय दलको कार्यालयद्वारा पठाइएको पत्रअनुसार, गत भदौ २ गते बसेको संसदीय दलको बैठकको निर्णयबमोजिम राप्रपा बागमती प्रदेश सरकारमा सहभागी भएको थियो ।
सोहीअनुसार मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिन भदौ ७ गतेको दलको बैठकले निर्णय गर्दै आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन र पक्षमा मतदान गर्न प्रमुख सचेतकमार्फत ह्विप जारी गरेको थियो। जसमा ५ जना सांसदहरूले ह्विप उल्लङ्घन गर्दै प्रदेश सभाको बैठकमा अनुपस्थित भएको पत्रमा उल्लेख छ।
ह्विप उलङ्घन गरेको भन्दै पार्टी विधान तथा संसदीय दलको विधान २०७९ अनुसार कारबाही किन नगर्ने भन्दै भदौ १७ गतेको दलको बैठकले उनीहरूलाई ७२ घण्टे स्पष्टीकरण सोधेको थियो ।
तोकिएको समय सीमाभित्र कुनै पनि सांसदले स्पष्टीकरणको जवाफ नदिएपछि उनीहरूलाई प्रदेश सभा सदस्यबाट हटाउने निर्णय गरी सभामुखलाई औपचारिक जानकारी गराइएको प्रमुख सचेतक तामाङले पत्रमा उल्लेख गरेका छन्।