जङ्गली हात्तीको बथानले कञ्चनपुरमा दुई घर भत्कायो
शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटामा जङ्गली हात्तीको बथानले दुईवटा घर भत्काएको छ । हात्तीको बथानले स्थानीय सूर्य चौधरी र महेश नेपालको घर भत्काएको स्थानीय निरज जप्रेलले जानकारी दिए ।
जप्रेलका अनुसार हात्तीको बथान अहिले पनि बस्ती नजिकै रहेको बैजनाथ सामुदायिक वनमा छ । जङ्गली हात्ती बस्तीमै प्रवेश गरेर घर भत्काउन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासनसँगको समन्वयमा हात्ती रहेको क्षेत्रमा निगरानी बढाइएको बताए ।
उनका अनुसार हात्तीलाई बस्तीबाट धपाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा सुरक्षा निकायसँग समन्वय भइरहेको छ । स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।