पाकिस्तानमा ७६३ अफगान कैदी रिहा, ३७ सय शरणार्थी स्वदेश फिर्ता
पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार ७०० अफगान शरणार्थीहरू एकै दिनमा पाकिस्तानबाट स्वदेश फर्केको अफगान अधिकारीहरूले शनिबार बताएका छन् ।
विभिन्न अभियोगमा पक्राउ परेका कैदीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा र पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा हुँदै अफगानिस्तानमा प्रवेश गरेको अधिकारीहरूले जनाएका छन् ।
अनुमानित ६० लाख अफगानहरू विदेशमा रहेका छन्, जसमध्ये अधिकांश छिमेकी पाकिस्तान र इरानमा छन् भने पछिल्लो समयमा दुवै देशले कागजातविहीन विदेशी नागरिकहरूलाई आफ्नो घर फर्कन दबाब बढाएको छ ।