इरान–अमेरिका सम्झौताबारे ट्रम्प आशावादी, तेहरान भन्छ– अन्तिम सहमति अझै भएको छैन
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट भविष्यमा इरानसँग महत्वपूर्ण सम्झौता हुन सक्ने दाबी गरेका छन्। उनले सम्झौता उच्च राजनीतिक तहमा स्वीकृत भइसकेको भन्दै सम्भावित सैन्य आक्रमणको योजना स्थगित गरिएको बताएका छन्।
तर इरानले भने ट्रम्पको दाबीलाई अस्वीकार गर्दै वार्ता जारी रहे पनि कुनै अन्तिम निष्कर्षमा नपुगेको स्पष्ट पारेको छ। तेहरानस्थित विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले अधिकांश विषयमा सहमति नजिक पुगे पनि अमेरिकी पक्षले नयाँ माग अघि सारेपछि प्रक्रिया जटिल बनेको बताएका छन्।
ट्रम्पले सम्झौताका मुख्य बुँदाहरू अमेरिका, इरान तथा क्षेत्रीय साझेदारहरूबाट स्वीकृत भइसकेको दाबी गरेका छन्। उनले हस्ताक्षरको समय र स्थान चाँडै सार्वजनिक गरिने संकेत पनि दिएका छन्। ट्रम्पको अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय वित्तीय बजारमा सकारात्मक प्रतिक्रिया देखिएको छ भने तेलको मूल्यमा गिरावट आएको बताइएको छ।
यद्यपि इरानी पक्षले सम्झौता अझै टुंगोमा नपुगेको दोहोर्याएको छ। तेहरानले अमेरिकी पक्षले पटक–पटक आफ्नो अडान परिवर्तन गर्ने गरेको आरोप लगाउँदै वार्तालाई चुनौतीपूर्ण बनेको जनाएको छ। इरानी सञ्चारमाध्यमहरूले पनि ट्रम्पले विगतमा पटक–पटक सम्झौता नजिक पुगेको दाबी गरेको उल्लेख गर्दै सावधानी अपनाउनुपर्ने बताएका छन्।
यसबीच ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग समेत छलफल भएको जानकारी दिएका छन्। उनका अनुसार सम्भावित सम्झौतामा इरानको आणविक कार्यक्रम र मिसाइल पूर्वाधारसँग सम्बन्धित विषयहरू समावेश हुन सक्छन्।
क्षेत्रीय कूटनीतिक पहल पनि तीव्र बनेको छ। पाकिस्तान, कतार तथा इजिप्टलगायत देशहरूले वार्तालाई सकारात्मक निष्कर्षमा पुर्याउन सक्रिय भूमिका खेलिरहेका बताइएको छ।
यद्यपि दुवै पक्षका परस्पर विरोधी अभिव्यक्तिका कारण मध्यपूर्वको कूटनीतिक अवस्था अझै अनिश्चित देखिएको छ। इरानमा युद्धको त्रास र आर्थिक दबाबका कारण सर्वसाधारणमा निराशा बढिरहेको छ भने इरानी सैन्य नेतृत्वले सम्भावित आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।
ट्रम्पको आशावादी दाबी र तेहरानको सतर्क प्रतिक्रियाबीच इरान–अमेरिका सम्बन्धको आगामी दिशा अझै स्पष्ट हुन सकेको छैन।