बर्दिबासमा २० वर्ष उमेरपछि विवाह गर्ने छोरीलाई ५१ हजार प्रोत्साहन दिने निर्णय
बर्दिबास (महोत्तरी) । महोत्तरीको बर्दिबास नगरपालिकाले २० वर्ष उमेर पूरा गरेर विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने भएको छ।
नगरपालिकाको १८औँ नगरसभामा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रम तथा बजेटमा यो व्यवस्था गरिएको हो। नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीका अनुसार बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले यो निर्णय गरिएको हो।
उनले यो प्रोत्साहनले कानुनअनुसार विवाह गर्ने उमेरबारे सचेतना बढाउने र बालविवाह रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
नगरपालिकाले यसअघि मुसहर समुदायलाई लक्षित गरी उमेर पुगेपछि विवाह गर्ने जोडीलाई ५० हजार रुपैयाँ दिने कार्यक्रम ल्याएको थियो। तर हालसम्म एक जोडीले मात्र सो सुविधा लिएको अभिलेखमा उल्लेख छ।
नगरपालिकामा हाल १३ वटा वडा बालविवाहमुक्त घोषणा भइसकेका छन् भने एक वडा बाँकी रहेको जनाइएको छ। नयाँ निर्णयलाई सामाजिक सचेतना बढाउने कदमका रूपमा हेरिएको छ।