धादिङमा दुईसहित पक्राउ, प्युठानमा १५ अवैध भरुवा बन्दुक बरामद
काठमाडौं — देशका दुई छुट्टाछुट्टै जिल्लाबाट ठूलो परिमाणमा अवैध हतियार बरामद गरिएको छ। धादिङमा दुई जना पक्राउ परेका छन् भने प्युठानका विभिन्न स्थानबाट १५ थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।
धादिङको नीलकण्ठ नगरपालिका–११ गोला भञ्ज्याङबाट सोमबार बेलुकी दुई थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही ठाउँका ३३ वर्षीय श्यामबहादुर शाक्य र नीलकण्ठ नगरपालिका–९ का ३२ वर्षीय सन्तबहादुर गुरुङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको विशेष टोलीले अवैध रूपमा हतियार ओसारपसार तथा लुकाइछिपाइ राखेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
यसैबीच, प्युठान जिल्लामा छुट्टाछुट्टै स्थानबाट १५ थान एकनाले भरुवा बन्दुक बरामद गरिएको छ। सरुमारानी गाउँपालिका–३ हंसपुरस्थित खडक सामुदायिक वनबाट मंगलबार बिहान १३ थान बन्दुक फेला परेको हो। जंगल क्षेत्रमा शंकास्पद रूपमा लुकाइएका अवस्थामा प्रहरी चौकी बड्डाँडाबाट खटिएको गस्ती टोलीले ती हतियार बरामद गरेको थियो।
त्यस्तै, नौबहिनी गाउँपालिका–७ पातचौर पोखरास्थित खोल्साबाट सोमबार साँझ थप दुई थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लुङबहाने र प्रहरी चौकी फोप्लीको संयुक्त टोलीले ती हतियार बरामद गरेको हो।
ती हतियार कसले र किन लुकाएर राखेको हो भन्नेबारे हालसम्म खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि कानुनी प्रक्रिया अघि बढाइएको छ।