प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमाथि संसदमा विरोध, रेकर्डबाट हटाउन विपक्षीको माग
काठमाडौं — प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा विवाद चर्किएको छ। विपक्षी दलका सांसदहरूले मंगलबारको बैठकमा प्रधानमन्त्रीको भनाइ रेकर्डबाट हटाउन माग गर्दै सरकारसँग स्पष्टिकरण माग गरेका छन्।
प्रतिनिधिसभा बैठकको सुरुमै विभिन्न दलका सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशयको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।
नेकपा सांसद प्रमेश हमालले सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले स्वयं संसदमा आएर स्पष्ट पार्नुपर्ने बताए। उनले सीमाक्षेत्रमा भइरहेको भारतीय हस्तक्षेपबारे सरकार गम्भीर हुनुपर्ने धारणा पनि राखे।
नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले पनि मन्त्रीमार्फत नभई प्रधानमन्त्रीले नै आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिनुपर्ने माग गरिन्।
त्यस्तै नेकपा (एमाले) सांसद टुकाभद्रा हमालले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको आरोप लगाउँदै संसदको अभिलेखबाट हटाउन माग गरिन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने बताउँदै सभामुखले उक्त भनाइ रेकर्डबाट हटाउन रुलिङ गर्ने विश्वास व्यक्त गरे।
राप्रपाकी सांसद सरस्वती लामाले सीमा सम्बन्धी विषयमा सरकार अझ जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै जिम्मेवारीपूर्ण पदमा रहेका व्यक्तिबाट गैरजिम्मेवार अभिव्यक्ति आउनु उचित नभएको बताइन्।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर संसदमा निरन्तर विरोध भइरहेका बेला सरकारको तर्फबाट औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। विपक्षी दलहरूले प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएसम्म विषयलाई उठाइरहने संकेत गरेका छन्।