नेपालमा मनसुन आगमन केही दिन ढिला हुने अनुमान, एलनिनोको प्रभाव देखिने संकेत
काठमाडौं — नेपालमा मनसुन भित्रिने समय यस वर्ष केही दिन ढिला हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सरदर जुन १३ मा नेपालमा मनसुन प्रवेश गर्ने भए पनि यस पटक त्यसमा केही ढिलाइ हुने सम्भावना देखिएको छ।
विभागकी प्रवक्ता विभूति पोखरेलले भू–उपग्रहबाट प्राप्त तथ्याङ्क र गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन आगमन ढिला हुने संकेत देखिएको जानकारी दिइन्।
हाल कोशी, बागमती र गण्डकी प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
मौसमविद्हरूका अनुसार प्रशान्त महासागरमा एलनिनो विकसित भइसकेको र अझै बलियो हुने क्रममा रहेकाले दक्षिण एसियाको मनसुन प्रणालीमा असर पर्न सक्छ। यसले नेपालमा पनि मनसुन कमजोर हुने वा ढिलो प्रवेश गर्ने सम्भावना बढाएको बताइएको छ।
विगतमा पनि सन् १९७२, १९८२, १९८३, १९८७, १९९२, १९९७, २००२, २००९, २०१६, २०१९ र २०२३ मा मनसुन ढिला प्रवेश भएको रेकर्ड रहेको विभागले जनाएको छ।
यस वर्षको मनसुन अवस्था अझ केही दिनको मौसमगत विश्लेषणपछि स्पष्ट हुने अपेक्षा गरिएको छ।