पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काठमाडौं, ८ असार — राजेन्द्र खरेलको आइतबार राति उपचारका क्रममा निधन भएको छ। दम रोगबाट पीडित खरेलको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दिवंगत खरेलको पार्थिव शरीर सोमबार दिउँसो नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा राखिएको थियो। उक्त अवसरमा गगन कुमार थापाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले पनि अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन्।
वि.सं. २००३ मा खरेलथोकमा जन्मिएका खरेल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए। उनी वि.सं. २०५६ को आम निर्वाचनमा काभ्रेपलाञ्चोकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
राजनीतिक जीवनका क्रममा उनले शिक्षा मन्त्रालयमा राज्यमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए। उनका तीन छोरा र एक छोरी छन्।
खरेलको निधनप्रति राजनीतिक वृत्त तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै उनको योगदानको स्मरण गरेका छन्।