बोर्ड अध्यक्ष नियुक्तिपछि पनि सेयर बजारमा उत्साह देखिएन, नेप्से सामान्य अंकले घट्यो
काठमाडौं, ८ असार — धितोपत्र बोर्डको अध्यक्ष पदमा नयाँ नियुक्ति भए पनि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छैन। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.४६ अंकले घटेर २७००.६५ विन्दुमा बन्द भएको छ।
सरकारले गत साता धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्टलाई नियुक्त गरेको थियो। अध्यक्ष नियुक्तिपछि भएको पहिलो कारोबार दिनमा पनि बजारमा उल्लेखनीय सुधार नदेखिएको हो।
बजार विश्लेषकहरूका अनुसार लगानीकर्ताको ध्यान अहिले धितोपत्र बोर्डको नेतृत्वभन्दा पनि केही साताभित्र सार्वजनिक हुने नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा केन्द्रित छ। त्यसैले बजार केही समय सामान्य उतारचढावमै रहने संकेत देखिएको छ।
नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा सामान्य बढेको छ। शुक्रबार ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ३५३ कम्पनीका ८१ लाख ३८ हजार ४३३ कित्ता सेयर किनबेच भएका छन्।
कारोबारमा सहभागी कम्पनीमध्ये ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४३ कम्पनीको घटेको छ। १४ कम्पनीको मूल्य स्थिर रहेको छ।
सोमबार टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले वृद्धि भई प्रतिकित्ता ३४५ रुपैयाँ पुगेको छ। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.३३ प्रतिशतले बढेर प्रतिकित्ता ८८० रुपैयाँ कायम भएको छ।
घट्ने कम्पनीतर्फ नेपाल बैंक डिबेन्चरको मूल्य सर्वाधिक ३.८७ प्रतिशतले घटेर प्रतिडिबेन्चर १,१०० रुपैयाँमा झरेको छ। गार्डियन माइक्रोलाइफको सेयर मूल्य पनि ३.०४ प्रतिशतले घटेर प्रतिकित्ता १,२४६ रुपैयाँमा सीमित भएको छ।
कारोबार रकमका आधारमा सोमबार सोपान फर्मास्युटिकल्स अग्रस्थानमा रहेको छ। कम्पनीको ३७ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यसको सेयर मूल्य ५.६६ प्रतिशतले बढेर प्रतिकित्ता १,१२० रुपैयाँ पुगेको छ।
त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर ३० करोड ५१ लाख रुपैयाँ बराबरको कारोबारसहित दोस्रो स्थानमा रहेको छ। कम्पनीको सेयर प्रतिकित्ता १,४६९ रुपैयाँमा कारोबार भएको छ।
समूहगत परिसूचकतर्फ कारोबारमा आएका १३ समूहमध्ये तीन समूहको सूचक बढेको छ भने १० समूहको सूचक घटेको छ। वित्त समूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले वृद्धि भएको छ।