यात्रुलाई हैरानी दिएको आरोपमा १० जना पक्राउ
काठमाडौं, ८ असार — काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा ट्राफिक प्रहरीले १० जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले कोटेश्वर र जडीबुटी क्षेत्रमा सञ्चालित बस काउन्टरमा अनुगमन गर्ने क्रममा यात्रुमाथि दुर्व्यवहार तथा अमर्यादित गतिविधिमा संलग्न रहेको आरोपमा बस काउन्टरका कर्मचारी, चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार पक्राउ पर्नेमा धनुषाका सूर्यबहादुर देवकोटा, दोलखाका प्रकाश शिवाकोटी, भक्तपुरका हरिभजन थापा, दोलखाका डिल्लीप्रसाद लामिछाने, सिन्धुपाल्चोकका सुरेश तामाङ, सिन्धुलीका तिलककुमार थापा, दोलखाका खड्कबहादुर तामाङ, सिन्धुलीका डोरकुमार श्रेष्ठ, ओखलढुङ्गाका नन्दलाल बुढाथोकी तथा सिन्धुपाल्चोकका राजेश सापकोटा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले यात्रु तानातान गर्ने, झोला खोस्ने तथा यात्रुलाई अनावश्यक दबाब दिने जस्ता अमर्यादित गतिविधि गरिरहेका थिए।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रवक्ता सुवेदीले जानकारी दिए।