फ्लाइ दुबईले असोज ७ देखि पोखरा–दुबई सिधा उडान सुरु गर्ने
पोखरा, ८ असार — फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सेवा सुरु गर्ने भएको छ। यससँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग प्रत्यक्ष रूपमा जोडिने भएको छ।
दुबई–पोखरा–दुबई उडान तालिका स्वीकृत भएसँगै फ्लाइ दुबईले टिकट बुकिङ समेत खुला गरिसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार यो उडान पोखराको अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तारमा महत्वपूर्ण उपलब्धि हो। उनका अनुसार यसले गण्डकी प्रदेशसहित देशकै पर्यटन र अर्थतन्त्रमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्नेछ।
उनले भने, “पोखरादेखि दुबई हुँदै युरोप, अमेरिका लगायत गन्तव्यमा यात्रा गर्न सहज हुनेछ। यात्राको समय घट्ने भएकाले खर्च पनि कम हुनेछ।”
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्सबीचको कोडसेयर साझेदारीमार्फत यात्रुहरूले एउटै टिकटमा विभिन्न महादेशका सहरसम्म यात्रा गर्न सक्ने सुविधा पाउनेछन्।
इमिरेट्स एयरलाइन्सले दुबई अन्तर्राष्ट्रिय विमानस्थललाई प्रमुख हब बनाएर विश्वका ७६ देशका १४३ भन्दा बढी गन्तव्यसँग जोडिँदै आएको छ। यसले पोखरालाई विश्वव्यापी हवाई सञ्जालमा जोड्ने अपेक्षा गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाइ दुबईलाई पोखरा–दुबई उडान अनुमति दिएको थियो। त्यसअघि कम्पनीको प्राविधिक तथा सुरक्षा टोलीले विमानस्थलको निरीक्षण गरेको थियो।
सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हाल आन्तरिक उडानमा सीमित रहँदै आएको छ। यसअघि केही अन्तर्राष्ट्रिय चार्टर उडान भए पनि नियमित व्यावसायिक उडान सञ्चालन हुन सकेको थिएन।
झण्डै २२ अर्ब रुपैयाँ ऋणमा निर्माण गरिएको यो विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउने प्रयास भइरहेका बेला फ्लाइ दुबईको यो निर्णयलाई महत्वपूर्ण मानिएको छ।
पर्यटन व्यवसायी तथा उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष नरेश कँडेलले यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशको आर्थिक समृद्धिमा योगदान पुग्ने बताएका छन्।
यससँगै पोखरालाई मध्यपूर्व, युरोप, अफ्रिका तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने सम्भावना थप बलियो भएको छ।