आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता काठमाडौंमा सुरु
प्रतियोगिता काठमाडौंको नयाँ बजारस्थित बहुउद्देश्यीय मार्शल आर्ट्स केन्द्रमा चैत्र ५ देखि ९ गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा नेपालका विभिन्न प्रदेश, जिल्ला, क्लब, स्कुल र डोजोका खेलाडीका साथै बङ्गलादेश र भुटानका खेलाडी गरी करिब ३०० जना सहभागी हुनेछन्।
पुरुष र महिलातर्फ विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगितामा विजयी खेलाडीलाई स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र प्रदान गरिनेछ। क्याडेट र जुनियर टिम समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टोलीलाई क्रमशः १५ हजार, १५ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ।
प्रतियोगितामा सहभागी खेलाडी र अफिसियलको ५ लाख रुपैयाँ बराबरको बीमा गरिएको छ। खाना, बसोबास र यातायातको व्यवस्था पनि आयोजकले गर्नेछ। प्रतियोगिता सञ्चालनमा करिब ३१ लाख रुपैयाँ खर्च हुने आयोजकले जानकारी दिएका छन्।