क्यानडाका पूर्वकप्तान नवनित धलिवालले लिए सन्यास
क्यानडा क्रिकेट टिमका अनुभवी ब्याटर तथा पूर्वकप्तान नवनित धलिवालले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।
३७ वर्षीय धलिवालले यसअघि नै यो प्रतियोगिता आफ्नो १२ वर्षे करियरको अन्तिम हुने घोषणा गरेका थिए। उनले समूह चरणको अन्तिम खेलमा बिहीबार अफगानिस्तानसँग खेलेपछि सन्यास लिए । खेलमा उनी ५ बल खेलेर शून्यमै आउट भए।
धलिवालले सन् २०१५ मा नामिबियामा भएको विश्व क्रिकेट लिग–२ मार्फत क्यानडाको सिनियर टोलीबाट डेब्यु गरेका थिए। उनले क्यानडाका लागि १८ एकदिवसीय र ४८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनी क्यानडाका टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन्। उनले २९ टी–२० अन्तर्राष्ट्रियमा कप्तानी गर्दै टोलीलाई २१ जित दिलाएका थिए।
सन् २०२४ को टी-२० विश्वकपमा उनले अमेरिकाविरुद्ध ६१ रन प्रहार गर्दै क्यानडाका लागि टी–२० विश्वकपमा पहिलो अर्धशतक बनाएका थिए। त्यस्तै, जारी संस्करणमा उनले तीन खेलमा १०८ रन बनाएका थिए, जसमा दक्षिण अफ्रिकाविरुद्ध ६४ रन उल्लेखनीय थियो।
सन् २०१९ मा एकदिवसीय मान्यता गुमाएपछि क्यानडाको पुनर्निर्माणमा धलिवालले महत्वपूर्ण भूमिका खेलेका थिए। सन् २०२३ मा क्यानडाले पुनः एकदिवसीय मान्यता प्राप्त गर्दा पनि उनले महत्वपूर्ण योगदान दिएका थिए।
धलिवालले खेल जीवनपछि प्रशिक्षकको भूमिकामा नयाँ पुस्तासँग काम गर्ने इच्छा व्यक्त गरेका छन्। राष्ट्रिय टोलीमा नभए पनि युवा खेलाडीलाई मार्गदर्शन गर्न चाहेको उनको भनाइ छ।