आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं, ८ माघ – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेदरल्यान्ड्ससँग नेपाल २ रनको झिनो अन्तरले हार व्यहोर्न बाध्य भयो।
१४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक हुँदा कप्तान रुबिना क्षेत्री र सीता राना मगरले १० रन मात्र जोड्न सके।
यसअघि २४ बलमा ४८ रन आवश्यक रहेको अवस्थामा सीता र रुबिनाले संयमित ब्याटिङ गर्दै खेललाई अन्तिम ओभरसम्म पुर्याएका थिए। रुबिना क्षेत्रीले अविजित ३७ रन र सीता राना मगरले अविजित २७ रन बनाइन्। बिन्दु रावलले १८ रनको योगदान दिइन्।
नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले ३ विकेट लिइन् भने सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले १–१ विकेट हात पारिन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाएको थियो। कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् भने स्टेर कालिसले ३० रन जोडिन्। रोबिन रिकेले १९ रन बनाउँदा आइरिस ज्विलिङ १४ रनमा अविजित रहिन्।
नेपालका लागि बलिङतर्फ रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १–१ विकेट लिए।
यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको नेपाल प्रतियोगितामा लगातार दोस्रो हारसँगै कठिन अवस्थामा पुगेको छ। उता, आजको जितसँगै नेदरल्यान्ड्स सुपर सिक्स चरणमा प्रवेश गरेको छ।